images
images

निर्वाचन प्रहरीको बाटो हुँदै सरकारी जागिरे बन्ने लक्ष्य

काठमाडौँ । सारङ्गी खत्री, दार्चुला सदरमुकामस्थित नयाँ नेपाल एफएममा काम गर्छिन् । उनले एफएममा जागिर खाएको डेढ वर्ष भयो । तलब छ, मासिक १२ हजार । २१ वर्षकी सारङ्गी, स्नातक तह चौथो वर्षमा पढ्छिन् । बिहान ५ बजेदेखि रेडियोको ड्युटी सुरु हुन्छ । जुन ५ घन्टासम्म चल्छ । खाजा खाएर अर्को जागिरतिर लाग्छिन्, उनी । त्यो जागिर हो, निर्वाचन प्रहरीको । बर्दि लगाएर, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खटिनुपर्छ । केही घन्टा आराम गरेपछि, बेलुका ५ बजे रेडियोको रात्रीकालिन ड्युटी सुरु हुन्छ । जुन सकिन्छ, राती ८ बजे । खाना पकाउँदा खाँदा, मध्यरात भईसक्छ । सारङ्गी खत्रीको दैनिकी निकै ब्यस्त छ ।

images

उमेर सानै छ । पढाई पुरा भएको छैन ।  के रहरले यति धेरै काम गर्छिन् होला उनी ? प्रश्नको जवाफ निक्कै लामो छ ।

सारङ्गी खत्रीको जन्म, दाचुर्लाको मार्मा गाउँपालिका–४ पड्परामा भएको हो । २०६२ साल जेठमा जन्मिएकी उनी, ब्यास नगरपालिका–६ हुपीस्थित, मामाघरमा हुर्किइन् । दुई वर्षकी हुँदा आमाबुबाले सारङ्गीलाई मामाघरमा छोडेका थिए । ११ वर्षपछि आमासँग एक पटक भेट भएको उनलाई याद छ । आमा केही दिनका लागि मामाघर आएकी थिईन्, त्यहीबेला । लामो समयसम्म आमाबुबाले नभेट्नुको कारण उनलाई थाहा छैन । तर बिडम्बना, आमासँग अर्को पटक भेट हुन पाएन । २०७३ सालमा जन्डिसका कारण आमाको निधन भयो । सारङ्गीलाई लाग्छ, उनले आमाको माया महसुस गर्नै पाईनन् । उनलाई आमाको अनुहार पनि राम्रोसँग सम्झना छैन ।

सारङ्गी, जेठी छोरी हुन् । उनी भन्दा पछाडी तीन बहिनी र एउटा भाइ छन् । बुबा इन्डिया पसेको चार वर्ष जति भयो । सुरुको वर्ष बहिनीहरुसँग सम्पर्कमै थिए । तर पछिल्लो तीन वर्षदेखि अत्तोपत्तो छैन । बुबाको नाम हो, कमल खत्री । ‘ऋण धेरै छ, कमाएर तिरिसक्छु अनि घर आउँछु भन्नुहुन्थ्यो रे, बहिनीहरुलाई ।’ सारङ्गीले बुबाको बारेमा सुनाईन् । तर न त बुबा आए, न त बुबाको खबर !

माईली बहिनीले बिहे गरिन् । बाँकी दुई बहिनी गाउँको घरमा बस्छन् । दुई वटा गाई पालेका छन् । खेतीपाती गर्छन् । उनीहरु पढ्दै पनि छन् । साइँली १० मा पढ्छिन्, कान्छी ९ मा । घरखर्चको जोहो गर्ने जिम्मेबारी सारङ्गीकै काँधमा छ । बहिनीहरुलाई हरेक महिना चामल पठाईदिन्छिन् । अनि, सकेजति खर्च पनि । भाइ चाँही सदरमुकाममा रहेको महेन्द्र नमुना स्कूलको कक्षा ८ मा पढ्छन् । स्कूलकै होस्टेलमा बसेर । यसको चाँजोपाँजो सारङ्गी आफैँले मिलाएकी हुन् । उनी भन्छिन्, ‘भाइबहिनीले पढ्न चाहेसम्म पढाउँछु ।’ उनको बुझाई छ, पढाई इज्जत हो । भविश्य हो । अनि सम्पति पनि हो ।

सारङ्गीले जागिर खान थालेको, झन्डै तीन वर्ष भयो । सुरुको एक वर्ष कालापानी एफएममा काम गरिन् । तर तलब बिनै । खर्च चाहियो भन्दा, धेरथोर पाउँथिन् । उनले त्यहाँ नियुक्ती पत्र त पाईनन् नै, नियमित तलब पनि पाईनन् । त्यो एक वर्ष उनका लागि सिकाईको वर्ष बन्यो ।

त्यही अनुभबले उनलाई नयाँ नेपाल एफएमको जागिरे बनायो । झन्डै डेढ वर्ष भयो, जागिर खाएको । नयाँ जागिरमा तलब तोकिएको छ, तर नियमित छैन । आवश्यकता पर्दा, माग्छिन् । हाकिमले दिन्छन् पनि । तर तलबकै रुपमा एकमुष्ट आउँछ, हरेक वर्षको असार मसान्तमा । कहिले काँही समस्या पर्छ । त्यतिबेला सरसापट् गरेर टार्छिन् । आखिर, रहरहरुलाई त उनले म्यानेज गरेकै छिन् ।

नयाँ नेपाल एफएम सामुदायिक रेडियो हो । चार जना कर्मचारीको भरमा चलेको छ । सारङ्गीलाई थाहा छ, मिडियाको अबस्था राम्रो छैन । ग्रामिण क्षेत्रका सामुदायिक रेडियोहरु त, झन् दयनीय अबस्थामा छन् । घिटिघिटी भएर चलिरहेको रेडियोको प्राण जोगाउने काम गरेकी छन्, उनले । प्राविधिक, समाचार बाचक र कार्यक्रम संचालक तीनैवटै भूमिकामा काम गर्नुपर्छ । नयाँ नेपाल एफएमका लागि अलराउन्डर हुन्, सारङ्गी । ‘तर मलाई कार्यक्रम चलाउन मन पर्छ ।’ उनले सुनाईन् । ‘काम चाहिएको बेला बाध्यताले रेडियोमा छिरेँ, अब त छोड्नै सक्दिनँ होला । तर सधैँभरी रेडियोमै बस्दिनँ । सरकारी जागिर खान्छु ।’ सारङ्गी खत्रीले सरकारी जागिर खाने रहर सुनाईन् ।

उनलाई शिक्षक बन्नुछ । त्यसका लागि तयारी गर्नुपर्छ, तर उनीसँग समय छैन । होस् पनि कसरी, दुईतिर जागिर छ । जसरी हुन्छ, भ्याउनै पर्छ । निर्वाचन प्रहरी भएपछि त बिहानको खाना खाने फुर्सदै हुँदैन । सारङ्गी भन्छिन्, ‘बिहान खाजा खान्छु । अनि ड्युटीमा जान्छु । खाना त बेलुका मात्रै खाने गरेकी छु ।’ भोक नलागेर होईन, खाना पकाउने र खाने फुर्सद नभएर । तर उनलाई रेडियोले थुप्रै कुरा सिकायो । बोल्ने शैलीको विकास भयो । मानिसहरुसँग घुलमिल हुन सजिलो भयो । अनि उनको परिचय पनि रेडियोकै कारण फराकिलो बन्यो ।

निर्वाचन प्रहरी बनेपछि उनलाई धेरैले सोधे, पत्रकार जस्तो मान्छे किन निर्वाचन प्रहरी बनेको ? उनको जवाफ एउटै छ, ‘पैसा कमाउन ।’ ४० दिन निर्वाचन प्रहरीको जागिर खाँदा सारङ्गीले ४५ हजार जति कमाउँछिन् । रेडियोमा बसेर त्यति कमाउन उनलाई चार महिना खटिनुपर्छ । रेडियोबाट महिनाको २० हजारसम्म तलब पाउने हो भने, खर्च चलाउन सजिलो हुने थियो । तर उनलाई थाहा छ, तत्कालै त्यस्तो अपेक्षा गर्न सक्ने अबस्था छैन ।

रेडियो भाडाको घरमा छ । उनको डेरा पनि रेडियो भएकै घरमा हो । कोठा भाडा महिनाको २५ सय तिर्नुपर्छ । एक हिसाबले रेडियो र कोठा सँगै हुँदा काम गर्न सजिलै भएको छ । तर अर्को हिसाबले चौबिसै घन्टा अफिसमा बस्दा, कहिलेकाँही दिक्दारी पनि लाग्छ । सारङ्गी भन्छिन्, ‘मेरो त अफिसियल र पर्सनल् टाईम् भन्ने नै हुँदैन ।’

निर्वाचन प्रहरी भएपछि उनले धेरै कुरा सिकिन् । सबैभन्दा महत्वपूर्ण सिकाई हो, अनुशासन । राष्ट्रको सेवामा जोडिन पाउँदा खुसी भएको सुनाईन् । ‘निर्वाचन जस्तो महत्वपूर्ण क्षणमा योगदान गर्न पाउँदा खुसी नहुने कुरा हुन्छ त !’ आवाजबाटै सारङ्गीको खुसी महशुस गर्न सकिन्थ्यो । जागिरले दिएको खुसी अपबाद हो । नत्र सारङ्गी खत्रीको जीन्दगीले नाम जस्तै, दुखका धुनहरु मात्रै रेटिरहेको थियो ।