images
images

शिर्ष नेताहरु निर्वाचन क्षेत्रमा केन्द्रीत, चुनावी आश्वासन पूरा गर्न हुन सक्छ कठिन

काठमाडौं । आगामी फागून २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरु आ–आफनै निर्वाचन क्षेत्रमा केन्द्रीत भएका छन् ।

अघिल्ला चुनावहरुमा ठूला दलका शिर्ष नेता आफ्ना निर्वाचन क्षेत्रमा भन्दा पनि पार्टीका आफ्ना उम्मेदवार जिताउन देश दौडाहमा लाग्ने गरेका थिए । आफूले स्वतः जित्न सक्ने सजिलो निर्वाचन क्षेत्र रोज्ने र आफ्ना पार्टीका उम्मेदवार जिताउन हिड्ने गरेका शिर्ष नेताहरु यस पटक भने आफ्नै निर्वाचन क्षेत्रमा धेरै केन्द्रीत भएको देखिएका छन् ।

जेन्जी आन्दोलनको जगमा हुदै गरेको यो निर्वाचनको दृश्य अघिल्ला निर्वाचनहरुको भन्दा फरक छ । यसपटक युवा सहभागिता बढेको, मतदाताले नयाँपन चाहेको र युवा उम्मेदवारहरुले माहोल बनाइरहेको अवस्थामा शिर्ष नेताहरुलाई सहज छैन ।

नेकपा एमालेका नेता केपी शर्मा ओली झापा–५ बाट चनाव लड्दैछन्, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौँ महानगपालिकाका पूर्व मेयर बालेन्द्र शाहले टक्कर दिँदै छन् । जहाँ नेकपाका रञ्जित तामाङ पनि मैदानमा छन् । अघिल्ला निर्वाचनमा चुनावी सभाहरुमा देखिने अध्यक्ष ओली, यो पटक आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत छन् । बालेन्द्र शाहलाई हराउने चुनावी रणनिति बुन्दै उनी घर दैलोमा व्यस्त छन् ।

नेपाली काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा नै छैनन् । काँग्रेस सभापति गगन थापा फाट्टफुट्ट रुपमा प्रादेशिक भेला तथा चुनावी सभामा पुगेका छन् तर केन्द्रीत भने सर्लाही–४ मा नै बनेका छन । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार चुनाव जित्दै आएका थापा यसपटक मधेस झरेपछि उनलाई त्यति सहज नभएको विश्लेषण हुने गरेको छ । रास्वपाले मधेसमा बनाएको माहोल बराबर टक्कर दिन थापाले सर्लाही क्षेत्र नम्बर–४ लाई केन्द्रमा राखेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यसपटक चुनाव लड्नको लागि रुकुम पुर्व पुगेका छन् । प्रचण्ड केही हप्ता रुकुममै बसेर घरदैलो गरे । यसअघिका निर्वाचनमा कहिले चितवन त कहिले गोरखाबाट चुनाव जितेका प्रचण्ड, आफ्नो निर्वाचन क्षेत्रमा फाट्टफुट् मात्रै पुग्ने गरेका थिए ।

रास्वपाका सभापति रवि लामिछाने एकसरो विभिन्न निर्वाचन क्षेत्रहरु घुमिरहेका भएपनि केन्द्रीत भने चितवन–३ मै छन् । बालेन्द्र शाह पनि झापा ५ मा केन्द्रीत हुँदा अरु दलका सबै शिर्ष नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत छन् ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनको परिदृश्य फेरिएकाले नेताहरुले चुनाव जित्न मिहनेत मात्रै गरेका छैनन् मतदातासँग घुलमिल हुने र चुनाव जित्न नयाँ नयाँ आश्वासन दिइरहेका छन् ।

तुरुन्तै पूरा गर्न नसकिने खालका बाचा गरेर मत माग्दै हिँडेका नयाँ पुराना दलका पाका तथा युवा दुबै खाले उम्मेदवारलाई चुनाव जितेपछि बाचा पूरा गर्न पनि उत्तिकै चुनौति देखिन्छ ।