काठमाडौं । भेनेजुएलाको राजधानी काराकास नजिक बुधबार आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ । ४ हजार ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका व्यक्तिको खोजी तथा उद्धारमा जुटिरहेका छन्।
राजधानी काराकास र नजिकैको तटीय सहर ला गुआइरामा भत्किएका भवनका भग्नावशेषमुनिबाट मानिसहरूले सहयोगका लागि गुहार गरिरहेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। हजारौं नागरिक घरविहीन भएका छन् भने क्षतिग्रस्त भवनमा बस्न नसकेपछि धेरैले सडकमा रात बिताइरहेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण युएसजिएसका अनुसार स्थानीय समयअनुसार बुधबार साँझ ६ः०४ बजे पहिलो ७ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७ दशमलब ५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिक केन्द्रित भएकाले ठूलो जनधनको क्षति भएको हो।















