images
images

परिवार र समुदायको सामूहिक प्रयासबाट मात्रै आत्महत्या रोकथाम संभव छः सरोकारवाला

काठमाडौं । परिवार र समुदायको सामूहिक प्रयासबाट आत्महत्या रोकथाम संभव हुनेमा सरोकारवालाले जोड दिएका छन् । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित ‘नेसनल डाइलग समिट अन सुसाइड प्रिभेन्सन २०२६’ को अवसरमा उपस्थित सहभागिले यस विषयमा परिवार, समाज र राष्ट्रिय संयन्त्र सबै गंभिर हुनुपर्ने धारणा राखेका हुन् ।
नेसन सोलुसन एन्ड रिसर्च सेन्टर (एनएसआरसी) र ग्राण्डी इन्टरनेसनल हस्पिटलको संयुक्त आयोजनामा भएको यो सम्मेलनमा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, युवा अभियन्ता, कानुनका विद्यार्थी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
आत्महत्या रोकथामका सामाजिक, सामुदायिक र युवा पक्षमाथि केन्द्रित भएर गरिएको छलफलमा सहप्राध्यापक तथा आईएफएसडब्ल्यूका सदस्य सुक्रिता राईले आत्महत्या रोकथाममा परिवार र समुदायको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा युवा अभियन्ता डहिला पाठकले मानसिक समस्या तथा संकटमा रहेका व्यक्तिले सहज रूपमा सहयोग माग्न सक्ने सुरक्षित वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा डा. निकेश मणि राजभण्डारी तथा राम पुकार शाहले आत्महत्या रोकथामसँग जोडिएका सामाजिक तथा सामुदायिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो । मानसिक समस्यालाइ समाधान गरि यस्ता घटना रोकथामको लागि परिवार र समाजले सकारात्मक सोच राख्नुपर्नेमा उहाँहरुको जोड थियो ।
यस्तै गरि सम्मेलनमा ‘मिडिया रिपोर्टिङ र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध’ विषयमा पनि छलफल भयो । छलफलमा जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित समाचार, मिडिया साक्षरता र समाचारमा प्रयोग हुने भाषाका विषयमा चर्चा गरिएको थियो । छलफलमा सञ्चारविज्ञ तथा पत्रकारिता प्राध्यापक चुनबहादुर गुरुङले आत्महत्या रोकथाममा जिम्मेवार सञ्चार, मानवअधिकार र प्रभावकारी जनचेतनाको महत्वबारे धारणा राख्नुभयो । प्रेस काउन्सिल सदस्य, मिडिया शोधकर्ता तथा पत्रकार रविराज बरालले यस्ता संवेदनशील विषयमा तथ्यमा आधारित र उत्तरदायी पत्रकारिताको आवश्यकता रहेको धारणा राख्नुभयो ।
पत्रकारसँगै सामाजिक सञ्जालमा सामग्री उत्पादन तथा प्रसार गर्ने प्रयोगकर्ताले पनि संवेदनशील विषयको गम्भीरता बुझेर जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।
सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीको बढ्दो प्रभाव र जिम्मेवारीबोधको कमिका कारण संवेदनशील विषयमा प्रकाशित सामग्रीको निगरानी तथा नियमन थप चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ थियो ।
छलफलमा मनोविद् अलिशा अधिकारीले आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी समाचारको प्रस्तुतिले पाठक तथा दर्शकमा पार्न सक्ने मनोवैज्ञानिक प्रभावबारे चर्चा गर्दै यसमा पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु सचेत रहनुपर्ने धारणा राख्नुभयो ।
छलफलसँगै सम्मेलनमा आत्महत्या रोकथामसम्बन्धी तालिम तथा जिम्मेवार आत्महत्या रिपोर्टिङसम्बन्धी छुट्टाछुट्टै कार्यशाला पनि सञ्चालन गरिएको थियो ।
नेसन सोलुसन एन्ड रिसर्च सेन्टर (एनएसआरसी) की अध्यक्ष विनिता निरौलाले कार्यक्रममा आत्महत्या रोकथामका व्यावहारिक उपाय, सहयोग प्रणाली तथा सञ्चारमाध्यमको जिम्मेवारीबारे सहभागीलाई जानकारी दिइएको बताउनुभयो ।
संस्थाले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा जनचेतना विस्तार र सहयोगको पहुँच बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।