images
images

धनियाँ बेच्दा घाटा भएपछि, उखेलेर फाल्दै किसान

काठमाडौं । ८, १० वटा धनियाँको पात मिसिएको एउटा सानो मुठालाई तपाइँ कति रुपैयाँ हाल्नुहुन्छ ? ५ रुपैयाँ, १० रुपैयाँ ? वा बढिमा १५ रुपैयाँ । उपभोक्तालाई महङ्गो पर्ने देखिएपछि तपाइँलाई लाग्छ होला धनियाँ कति महङ्गो भएको ? यस्तो पनि सोँच्नु हुन्छ होला धनियाँ खेती गर्नेहरुलाई खुब नाफा हुँदो हो । तर वास्तविकता अर्कै छ, उपभोक्ताले १० रुपैयाँमा एक मुठी हरियो धनियाँ किन्छन् तर किसानलाई एक किलो हरियो धनियाँको २० रुपैयाँ पनि नआएपछि काटेर फाल्न बाध्य भएका छन् ।

इन्द्रसरोवर–०४, मकवानपुरका भक्तबहादुर स्याङ्तान व्यावसायिक तरकारी खेती गर्छन् । एक साताअघि सम्म उनको खेतमा टनाटन हरियो धनियाँ थियो । गाइभैँसीको मल र भुसले मलिलो बनेको माटोमा लहलह बनेको धनियाँले बजार मूल्य पाएन, जसका कारण लाखौँ घाटा खाएर धनियाँ काटेर मिल्काइदिन बाध्य भए, स्याङ्तान ।

धनियाँ टिप्नको लागि लगाईएका खेतालाले एक दिनमा ३० देखि ४० किलो धनियाँ टिप्न सक्छ, उनी भन्छन्, ‘टिपेको धनियाँ काठमाडौँ पुराउन भाडा नै महङ्गो छ, एक किलो धनियाँको यातायात खर्च १५ रुपैयाँ जति आउँछ, तर धनियाँको मूल्य प्रतिकिलो २० रुपैयाँ पाउने भएपछि घाटाको व्यापार गरेर के काम ?’

उनका अनुसार दैनिक धनियाँ टिप्नकै लागि ८ देखि १० जना खेतला लगाउनुपर्छ । खेतालाकै लागि दैनिक १० हजारसम्म ज्याला दिनुपर्छ । यातायात खर्च समेत कटाउँदा त धनियाँ बेचेर भारी घाटा हुने भएपछि फाँडेर फालिएको हो ।

अघिल्लो साता उनको खेतमा हल्काराको टोली पुग्दा दुई दाजुभाइ ट्याक्टर लगाएर खेत जोत्दै थिए भने खेतलाहरु धनिया फाँड्दै थिए । दुई महिना अघि स्याङ्तानले झण्डै ५ लाख खर्च गरेर धनियाँ खेती गरेका थिए । ‘धनियाँको मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म हुँदा लगानी उठ्न सक्थ्यो, तर मूल्य निकै कम हुँदा घाटा भयो’ उनी भन्छन् । उनले धनियाँ फाँडेर बन्दा रोपेका छन् । यो समयमा बन्दा नरोपे फेरि बन्दामा समेत घाटा बेहोर्नु पर्ने भएकाले समयमा नै धनियाँ फालिदिएको उनको भनाइ छ ।

स्याङ्तानका अनुसार भाउ आएको समयमा काँक्रो, बन्दा, काउली जस्ता तरकारीमा किसानलाई फाइदा हुन्छ । तर कुन सिजनमा कुन तरकारीले भाउ पाउँछ थाहा हुँदैन । दुःख गरेर खेती गर्ने किसानको भागमा न्यून मूल्य पर्छ र उत्पादित उपज नै फाल्नुपर्ने अवस्था आउँछ । यसरी स्याङ्तानले जसरी तरकारी फालेको यो नयाँ घटना होइन, बेला बेलामा किसानहरुले उचित मूल्य खोज्दै तरकारी खेरफाल्ने गर्छन् । तर ठिक उल्टो उपभोक्ताले भने चार भाग बढिसम्म रकम खर्च गरेर हरिया तरकारी तथा साग सब्जि खानुपर्ने बाध्यता छ ।

तस्वीरहरुः हल्कारा खबर