images
images

बालेनलाई किन मन पराउँछन् युवा ?

काठमाडौं । देशमा चुनावी माहोल छ । ३ हजार ४ सय बढि उम्मेदवार चुनावी मैदानमा छन् । हुन त जेन्जी आनदोलनपछि सरकारले फागून २१ लाई चुनाव गर्ने मितिको रुपमा घोषणा गरेदेखि नै चुनाव लागिरहेको छ । अब त नेपाल चुनावको संघारमै छ ।

देशभरि उम्मेदवार रहेका ३ हजार ४ सय ६ जना उम्मेदवार नै सकेसम्म मतदाता आफूतिर आकर्षित गर्न चाहन्छन् । जानेसम्मका हर्कत गरिरहेका छन् । आएसम्म मीठो बोल्ने कोशिश गरिरहेका छन् । उनीहरु यसरी दौडिरहेका छन्, कि जसरी भएपनि मतदाता प्रभावित पार्नुपर्छ, जित्नुपर्छ, संसद पुग्नुपर्छ ।

images

आखिर कसलाई लाग्दैन र ? मान्छेहरुले आफूलाई मन पराउन्, माया गरुन्, आफ्नै कुरालाई मनन गरुन् । तर सबैको पछाडी मान्छेहरु लाग्दैनन् । सबैलाई मन पराउनेहरु हुँदैनन् । तर पछिल्लो समय एक जना युवा नेतालाई मानिसहरुले यसरी मन पराएका छन्, यसरी पछ्याएका छन् कि मानौँ उनी कुनै सेलिब्रटी हुन् । वर्षौ अघिदेखि चिनिएका व्यक्ति हुन् । उनी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह । जसलाई मानिसहरु बालेन भनेर चिन्छन् र उनी पनि आफूलाई बालेन नै भनेर चिनाउन रुचाउँछन् ।

यो निर्वाचन यसअघिका निर्वाचनहरु भन्दा भिन्न छ । भदौ २३ र २४ गते भएको जेज्जीहरुको आन्दोलन र त्यसपछिको परिस्थितिका कारण पनि यसपटक युवाहरु नयाँपन चाहन्छन् । आफू जस्तै युवा संसद भवनमा पुगेर आफ्नै आवाज मुखरित भएको हेर्न चाहन्छन् । भ्रष्टाचार रोकिएको हेर्न चाहन्छन् । देशमै गरिखाने वातावरण बनाउन चाहन्छन् । राजनीतिक स्थायित्व चाहन्छन्, आफूजस्ता युवालाई स्पेस दिनेहरुलाई सरकारमा देख्न चाहन्छन् । जे होस् युवाहरु केही नयाँ चाहन्छन्, जुन यसअघि कहिल्यै भएन, हुनै सकेन ।

सायद नयाँको पर्याय बनेका छन् बालेन । आखिर युवाहरु किन बालेनलाई यति धेरै मन पराउँछन् ? पूर्व पुगेपनि, पश्चिम पुगेपनि, तराई पुगेपनि, जताजता बालेन पुग्छन् उतैउतै युवाहरुको भिड किन छ ? किनकी युवाहरु बालेनलाई मन पराउँछन् । अब प्रश्न आउँछ युवाहरु किन मन पराउँछन् बालेनलाई ?

काठमाडौंकी प्रबिता ढकाल भन्छिन् ‘किनकी बालेन इन्ट्रेस्टिङ लाग्छन्, युवा छन्, उनमा इनर्जी छ, सिधासिधा कुरा गर्छन्, लामोलामो कुरा गर्दैनन्, मनमा जे छ त्यहि बोल्छन् जस्तो लाग्छ जुन यसअघिका नेताहरु भन्दा फरक लाग्छ त्यसैले मन पर्छ ।’

यसअघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्पष्ट र सिधासिधा बोलेर, आफ्ना एजेण्डा स्थापित गर्दै जित हाँसिल गरेका बालेन त्यसपछि भने सार्वजनिक रुपमा कमै मात्रै बोले । दुई वर्षको अबधिमा काठमाडौंमा महसुस हुनेगरि विकास र सुधार गरेका बालेनले नबोलेरै देशभरिका नागरिकको ध्यान खिचे । मानिसहरु उनको फ्यान बन्दै गए । हुँदा हुँदा अवस्था यस्तो पनि आयो कि जेन्जी आनदोलन पछि देश सम्हाल भन्दै उनलाई सार्वजनिक रुपमा आह्वान गरियो । युवाहरुको मात्रै होइन आम नागरिकको भरोसाको केन्द्र जस्तै बन्न पुगे बालेन ।

एक्लै उम्मेदवार बनेर स्वतन्त्र जितेर देशको नेतृत्व गर्न सकिँदैन भन्ने बुझेका बालेन रास्वपा प्रवेश गरे र चुनावी दौडमा निस्किए । स्वयम् बालेनले पनि सोचेका थिएनन् होला कि देशभरिबाट यति धेरै माया पाउँछु ।

बालेन यसअघिका स्थापित नेताले जस्तो लम्बेतान भाषण गर्दैनन् । राजनीतिक सिद्धान्तका लामा फेहरिस्त सुनाउँदैनन् । अरु नेताहरुलाई पनि गाली गर्दैनन् । आफ्नै पार्टीभित्रका कसैप्रति घोचपेच गर्दैनन् । उनलाई आफ्ना पार्टीको लिगेसी सुनाइरहनु छैन । अरु प्रतिको बितृष्णा पोख्नु पनि छैन । आफ्नै कुरा पनि लामो भन्दैनन् उनी । छोटो मीठो टक्क बोल्छन् । अहिलेको समयमा मानिसहरु एकै ठाउँमा, एउटै कुरा सुनेर अडिन सक्दैनन् । सायद बालेनले अहिलेको मानिसहरुको व्यस्तता बुझेका छन्, त्यसैले छोटो बोल्छन् ।

ओखलढुंगाका समीर मगरको विचारमा बालेन अलिकति रहस्यमयि छन्, सायद त्यसैले पनि बालेनलाई मानिसहरु बुझ्न चाहन्छन् र उनीतिर झुम्मिन्छन् । समीरलाई गीतसंगित मन पर्छ बालेन पनि कलाकार भएकाले पनि उनलाई बालेन पहिलेदेखि नै मन पथ्र्यो । झन् अहिले त भाबी प्रधानमन्त्रीकै रुपमा अघि सरेकाले धेरै नै मन पर्न थालेको छ । बालेनको पर्सनालिटि पनि उस्तै छ, सधैंभरि एकै किसिमका कपडा लाएर चट्ट परेर हिँड्न सक्छन् बालेन ।

त्यसो त बालेनले युवाहरुको चाहना बुझेका छन् । मञ्चमा पुगेर पनि औपचारिक बन्दैनन् । मञ्चमै पुगेर पनि आइ लभ यु भन्न भ्याउँछन् । संवादको शैलीमा भाषण गर्छन् । भाषण गर्दा पनि उस्थितसँग संवाद गर्छन् र उनीहरुको मनस्थिति बुझेर बोल्छन् । सायद त्यसैले हुनुपर्छ युवाहरुले मात्रै होइन सबैले बालेनलाई मन पराउँछन् ।