images
images

विद्यार्थी मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि ‘भ्वाइस, माइन्ड एन्ड फ्युचर २०८३’ सम्पन्नः यो क्षेत्रमा लगानी बढाउन सरकारसँग माग

काठमाडौं । बालबालिकामा हुने मानसिक स्वास्थ्य समस्या न्युनिकरण गरि उनीहरुलाइ अब्बल सिकाइ प्रक्रियामा जोड्न छुट्टै संरचनाको बिकास गर्नुपर्नेमा विद्यालयका प्रधानाध्यापकहरुले जोड दिएका छन् । विद्यार्थी मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गोकर्णेश्वर नगरपालिका, नेशनल सोलुसन एन्ड रिसर्च सेन्टर र नेपाल टेलिकमको संयुक्त रुपमा आयोजना गरेको “भ्वाइस, माइन्ड एन्ड फ्युचर २०८३” कार्यक्रममा बालबालिकाको मानसिक स्वास्थ्यको बारेमा गंभिर छलफल भएको छ ।

जहाँ शिक्षकहरुले बालबालिकाको मानसिक स्वास्थ्य अवस्था अनुसार उनीहरु मैत्री छुट्टै विद्यालयमा राखेर पढाउनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले छुट्टै विद्यालयको स्थापना गर्नुपर्ने, शिक्षहरुलाइ पर्याप्त तालिम प्रदान गर्नुपर्ने,पाठ्यक्रम र पाठ्यसामग्री पनि उनीहरुलाइ सहज हुने किसिमको बनाउनको लागि सरकारले लगानी गर्नुपर्ने, विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाता व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा नामी कलेज गोकर्णेश्वरका प्रधानाध्यापक अनिशा पाण्डेले विशेष क्षमता भएका बालबालिकाको बृद्धि बिकास र पठनपाठन सहज बनाउन विज्ञहरु र सरकार गंभिर हुनुपर्ने धारणा राख्नुभयो ।

images

कार्यक्रममा मनोस्वास्थ्य तथा न्यूरो विकाससम्बन्धी विज्ञ डा. रुजा श्रेष्ठले बालबालिकाको मानसिक स्वास्थ्यमा न्यूरोविकासजन्य तथा स्नायुसम्बन्धी अवस्थाहरूले पार्ने प्रभावबारे जानकारी दिनुभएको थियो । उहाँले बालबालिकामा हुने मानसिक समस्या, कन्डक डिसअर्डर जस्ता विषयमा जानकारी गराउनुभयो । कतिपय मानसिक समस्या गर्भाअवस्थाबाटै संगै आउने र उनीहरुको समस्या पहिचान गरि उपचार गर्न सके उनीहरुको जीवन सहज बनाउन सकिने पनि बताउनुभयो ।

तर अभिभावकहरुमा यस बारेमा ज्ञान नभएको, भएपनि आफ्ना बालबालिकामा मानसिक स्वास्थ्य समस्या रहेको विषयमा स्वीकार गर्न सक्ने स्थिति नरहेको जस्ता कारण बालबालिकाहरु यस्तै अवस्थाबाट गुज्रनुपर्ने बाध्यता रहेको छ । विद्यालय, परिवार र शिक्षकबीचको समन्वयले विद्यार्थीको उपचार तथा सकारात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी उपायहरुका बारेमा पनि जानकारी गराईएको थियो । मानसिक स्वास्थय सामाजिक कार्यकर्ता पवन पौडेलले शिक्षकहरूलाई मानसिक तनावका संकेत पहिचान गर्ने, विद्यार्थीका कुरा संवेदनशीलतापूर्वक सुन्ने तथा आवश्यक परेमा विशेषज्ञ सेवासँग जोड्ने थ्रि एल अपरोचका बारेमा जानकारी गराउनुभयो । लुक अर्थात मानसिक पीडाका सूक्ष्म संकेतहरू पहिचान गर्ने, लिसन आर्थत उनीहरुलाइ सहानुभूतिपूर्वक सुन्ने र लिंक अर्थात आवश्यक परेमा विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ, तर अभिभावक र समाजमा यस बारेमा पर्याप्त ज्ञान नहुँदा बालबालिकाले अपहेलना भोग्नुपरिरहेको सन्र्दभमा समयमै पहिचान तथा प्रभावकारी व्यवस्थापनका उपायबारे पर्याप्त छलफल हुनु आवश्यक छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले विद्यालय तहमा बढ्दो मानसिक स्वास्थ्य चुनौती र त्यसको समाधानको लागि स्थानीय सरकारहरु पनि सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले यस्ता समस्या रोकथाम र उपचारको लागि दुवै पक्षलाई समेट्ने गरी आवश्यक पहल गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । एनएचआरसीले विद्यार्थीको मानसिक स्वास्थ्यका लागि बिभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।