images
images

फिफा विश्वकप २०२६ः फुटबल उत्सवका लागि विश्व तयार

काठमाडौं । विश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब दुई दिन मात्र बाँकी रहेको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइएको छ।

जुन ११ देखि सुरु हुने प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन्। यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा यस पटक टोली संख्या बढाइएकाले खेलको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्।

images

उद्घाटन खेल मेक्सिको सिटीस्थित स्टाडियो अजटेकामा मा हुनेछ। विश्वकपको फाइनल भने जुलाई १९ मा अमेरिकाको मेटलाइफ स्टेडिएममा खेलाइने तालिका छ।

नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली नकआउट चरणमा पुग्नेछन्।

तीन देशका १६ विभिन्न सहरमा आयोजना हुने विश्वकपका लागि सहभागी राष्ट्रहरू अन्तिम तयारीमा जुटेका छन्। गत संस्करणको विजेता अर्जेन्टिना फुटवल टिम उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ भने अन्य दाबेदार टोलीहरू पनि विश्वकप जित्ने अभियानमा रहनेछन्।

करिब ३९ दिनसम्म चल्ने विश्व फुटबलको यस महाउत्सवले विश्वभरका करोडौं समर्थकको ध्यान उत्तर अमेरिकातर्फ केन्द्रित गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको सुरुवातसँगै विश्वभर फुटबलको उत्साह थप बढ्ने विश्वास गरिएको छ।