images
images

खानेतेलको मूल्य बढ्दा उपभोक्ता मारमा

काठमाडौ । पछिल्लो एक महिनामा खाने तेलको मूल्य अस्वाभाविक बढ्दा उपभोक्ता मारमा परेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म खाने तेलको भाउ बढाएका छन् ।

माघ अन्तिम सातासम्म प्रतिलिटर दुई सय ५० देखि दुई सय ७५ रुपैयाँमा पाइने सनफ्लावर तेल फागुन अन्तिम हप्तासम्म आइपुग्दा प्रतिलिटर तीन सय रुपैयाँसम्म पुगेको छ ।

तर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने हाल बजार मूल्यभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको जनाएको छ । लिमिटेडको वेबसाइटमा भटमासको तेल प्रतिलिटर दुई सय ४०, सनफ्लावर दुई सय ७५ र विभिन्न ब्रान्डका तोरीका तेल दुई सय ५५ देखि तीन सय ६० रुपैयाँसम्ममा उपलब्ध छन् । यद्यपि, निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्य वृद्धि निकै उच्च देखिएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघकाअनुसार अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकहरूबाट कच्चा तेल बोकेर आउने ठुला जहाजहरू बाटोमै रोकिएका छन् । जसका कारण खाने तेलको मूल्य बढेको हो ।

धान र चामल छिमेकी मुलुक भारतबाट सहजै आउने भए पनि खानेतेलका लागि तेस्रो मुलुकमै भर पर्नुपर्ने बाध्यता रहेको छ । अन्तराष्ट्रियस्तरमा भइरहेका युद्धहरूले ढुवानी सेवा प्रभावित हुँदा र कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उपभोक्ताले महँगी खेप्नुपरेको व्यापारीहरु बताउँछन् ।

अन्तराष्ट्रिय बजारमा अहिले कच्चा पाम तेल प्रतिटन ९ सय ५० देखि १ हजार डलरमा कारोबार भइरहेको छ । त्यसैगरी सोयाबिन तेलको मूल्य प्रतिटन ९ सय ८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल ९ सयदेखि ९ सय ५० डलर हाराहारीमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघको तथ्याङ्कले पनि घ्यू तथा तेलको मूल्यमा ७.६१ प्रतिशतको वृद्धि भएको देखाएको छ । फागुनमा यो वृद्धि दर अझै उच्च हुनसक्ने अनुमान छ ।