काठमाडौ । सरकारले खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल आएका श्रमिकहरूलाई कार्यथलोमा फर्किन सहज हुने गरी यो निर्णय गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने छन् ।
यी देशमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भएर समस्यामा परेको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो कदम चालेको हो ।
परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा मन्त्रालयले चैत ३ गते यो निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।
मध्य–पूर्वको सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै सरकारले ६ वटा देशमा भने व्यक्तिगत र संस्थागत दुवै प्रकारका श्रम स्वीकृतिमा लगाएको रोकलाई निरन्तरता दिएको छ । विज्ञप्ति अनुसार इरान, इजराइल, बहराइन, कुवेत, इराक र लेबननका लागि भने हाललाई श्रम स्वीकृति प्रदान गरिने छैन ।
यसअघि २०८२ फागुन १७ गतेको निर्णय अनुसार मध्यपूर्वको विषम परिस्थितिका कारण ती क्षेत्रमा जाने श्रमिकको सुरक्षाका लागि भन्दै श्रम स्वीकृति स्थगन गरिएको थियो ।


ओइल दर्पण 












