images
images

रास्वपाका शीर्ष चार नेताबीच आज भेट, सरकार गठनका विषयमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष चार नेताबीच आज भेट भएको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिङ्गीमा भेट भएको हो ।

उपसभापति वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्दै, ‘राजकाज आज साँझको छलफल’ लेखेका छन् ।
यसबाट उनीहरु बीच सरकार गठन विषयमा छलफल भएको बुझ्न सकिन्छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालय पुगेसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार आज (बिहीबार) कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरुले राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।

सोही कारण रास्वपाका शिर्ष नेताहरु छलफललाई तिब्र बनाएका हुन् ।