images
images

प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए ।

प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन् ।

एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए । कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे । विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गर्नुभयो । उहाँको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका थिए ।

त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो । यसअघि प्रतिपक्षीहरूको विरोधकै कारण संसद बैठक १५ मिनेट स्थगित भएको थियो । सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गर्नुभएको थियो । प्रतिपक्षी सांसदहरूले भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद बैठक चल्न नदिने अडान लिए ।

प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जबाफ दिनुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा जानुभएको छैन ।