images
images

सुकुम्वासीलाई अबको केही हप्ताभित्रै लालपुर्जा वितरण गरिन्छः मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको र अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने बताउनुभएको छ ।

मन्त्री रावलको सचिवालयले पठाएको एक भिडियोमा रावलले सुकुम्वासी समस्या समाधानका लागि विगतमा अपनाइएका पुराना शैली र संरचनाहरू प्रभावकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो ढर्राबाट हुँदैन, पुराना जति पनि हाम्रा संरचना थिए, त्यसले राम्ररी काम गरेन र केही पनि नतिजा दिन सकेन ।’

images

विगतको असफलतालाई मध्यनजर गर्दै सरकारले फरक किसिमबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ अध्यादेशमार्फत संरचनामा फेरबदल गरेको उहाँले जानकारी दिनुभयो । नयाँ संरचनाहरू बन्ने क्रममा रहेको र यसले चाँडै नतिजा दिने उहाँले दाबी गर्नुभयो ।

सरकारको अबको लक्ष्य केही हप्ताभित्रै लालपुर्जा वितरण गर्ने रहेको मन्त्री रावलले स्पष्ट पार्नुभयो । ‘पक्कै पनि अबको केही हप्तामा सुकुम्वासीको हकमा हामी लालपुर्जा वितरण गर्छौँ,’ उहाँले भन्नुभएको छ ।

सरकारले सहकारी पछि सुकुम्वासी समस्यालाई प्राथमिकतामा राखेर समाधानको प्रयास गरिरहेको उहाँको भनाइ छ ।

यस कदमबाट वर्षौँदेखि लालपुर्जाको पर्खाइमा रहेका सुकुम्वासीहरूले राहत पाउने अपेक्षा गरिएको छ । सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयले सरकार आलोचित बन्दै आएको छ ।