तनहुँ । प्रमुख पर्यटकीय गन्तव्य बन्दिपुरमा पर्यटकीय चहलपहल बढेको छ । २०७२ सालको भुकम्प र २०७६ मा आएको कोरोना भाइरस महामारीका कारण पर्यटकहरु कम भएका थिए । अहिले भने पर्यटकहरुको चहलपहल बाक्लो भएको स्थानीय पर्यटन व्यवसायि श्रवण कुमार राइ बतानुहुन्छ । अघिल्ला वर्षहरुमा भन्दा पर्यटक बढेपछि आम्दानी पनि बढेको छ । जसले गर्दा राइ दङ्ग हुनुहुन्छ ।
भुकम्प र कोरोनाले व्यापार बिथोलिएपछि धेरैले घर र व्यवसाय छोडेर हिँडेका थिए । तर अहिले आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै बन्दिपुरको व्यवसाय लयमा फर्कदैं छ । बन्दिपुरले काँचुली फेर्दै गइरहेको छ । पर्यटकहरु बन्दिपुर पुगेर होम स्टेमा बस्न, स्थानीय खानाको स्वाद चाख्न र स्थानीय संस्कृती हेर्न रुचाउँछन् । होम स्टे र ग्रामिण पर्यटनका कारण पर्यटकहरु बढिरहेका छन् ।
यतिबेला बन्दिपुरका होटल र होम स्टेहरुमा बास पाउन पनि मुस्किल रहेको छ भने होम स्टे सञ्चालकलाइ पाहुनाहरु व्यवस्थापन गर्न हम्मे–हम्मे परिरहेको छ । बिगत ९ बर्ष देखी बिन्दबासिनी सामुदायीक होमस्टे को घर नं ७ सञ्चालन गर्दै आउनुभएका तुलसी बडुका अनुसार शुक्रबार र छुट्टीका दिनमा पर्यटकहरुको चाप धेरै पर्छ । छुट्टीका दिनमा अग्रिम बुकिङ नगरि पुगेका पर्यटकलाइ बास पाउन मुस्किल पर्छ ।
बन्दीपुर मुख्य हाल ६ वटा होमस्टेहरू सञ्चालनमा रहेका छन् । ति हुन बिन्दबासीनी, टुडिखेल, बन्दीपुर, तिनधारा, मोहोरीया र गुरुङ होमस्टे । यि होम स्टेहरुले अर्गानिक र नेपाली स्वाद पस्किरहेका छन् । दाउराको आगोमा पकाइएको अर्गानिक खाना र स्थानीय कोदोको रोटी पर्यटकले रुचाउने गरेको बडुले बताउनुभयो ।
बन्दिपुरका होम स्टेमा बस्ने पाहुनाले प्रतिव्यक्ति १,२०० रुपैंया तिरे एक रातको बास, बेलुकाको खाना र भोलिपल्ट बिहानको खाजा (नास्ता) समेत खान सक्छन् । सस्तो र सुलभ दरमा बस्न, खान, पुरानो र ऐतिहासिक स्थानीय बजार घुम्न, बिभिन्न जातजातीका पोशाक लगाएर फोटो, भिडियो खिच्न पाइने भएपछि आन्तरिक पर्यटकहरु पनि बढिरहेका छन् । मनपरेको सास्कृतिक पोशाक लगाएर तस्बिर खिच्नेहरुले प्रतिघण्टा ३०० रुपैंया तिर्नुपर्ने आइसा कल्चर डे«स सञ्चालक उर्मिला गुरुङले बताउनुभयो ।
यो मौसममा पर्यटकहरु बन्दिपुरका कलात्मक घर सँग टिकटक बनाउने, फुल र प्रकृतिसँग रमाउदै तस्बिर खिचिरहेको भेटिन्छन् । काठमाडौंबाट घुम्नको लागि बन्दिपुर पुग्नुभएका सञ्जिता श्रेष्ठलाइ परम्परागत काष्ठकलाले बनेका घरहरू र ढुङ्गा छापिएका बाटोहरु खुब मन पर्यो । काठमाडौंमा हुर्किएको आफूलाइ यस्तो ग्रामिण शैलीले लोभ्याएको उहाँको प्रतिक्रिया थियो । बन्दिपुरमा राती १० बजेसम्म मानिसहरूको चहलपहल हुन्छ । पर्यटकहरु सांस्कृतिक कार्यक्रम र नाचगानमा व्यस्त हुन्छन् ।
बन्दिपुर पुग्ने पर्यटकको लागी अर्को आकषर्ण हो, मिनी ग्रेटवाल । जहाँ बाट वरिपरिका फरक फरक दृश्य देखिन्छ । आधा घण्टाको पैदल यात्रा गरेपछि पुगिने थानीमाई मन्दिर पनी पर्यटकीय गन्तव्य बन्दै छ ।
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पोखरा, काठमाडौँ र चितवनबाट आउने पर्यटकहरूको सङ्ख्या बढेको व्यवसायिहरु बताउँछन् । बन्दीपुर अहिले बिदा मनाउन आउने आन्तरिक पर्यटक, शैक्षिक भ्रमणमा आउने विद्यार्थी र बाह्य पर्यटकहरुको लागि सुन्दर र आकर्षक गन्तव्य बन्दै गइरहेको छ ।
बटोको सहज पहुँच, काठमाडौं, पोखरा, चितवन जस्ता शहरबाट नजिकै भएका कारण पनि बन्दिपुर आकर्षक गन्तव्य बन्दै गएको हो ।















