मोरङ । राजनीतिकर्मीहरू पदमा पुगेपछि भुइँतहको वास्तविकता भुल्छन् र विलासी जीवनशैली अपनाउँछन् भन्ने आम गुनासो बढिरहेका बेला, पूर्वोत्तर मोरङका एक परिचित कम्युनिष्ट नेताले भने श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ ।
चार पटकसम्म जनप्रतिनिधि बनिसक्नुभएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल, हिजोआज प्र–१–०२–००५ ह ५२१४ नम्बरको निलो रंगको सफारी (अटो) चलाउँदै गरेको अवस्थामा सडकमा भेटिनुहुन्छ । नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका ५९ वर्षीय ढकालको यो दैनिकीले यतिबेला स्थानीय स्तरमा धेरैको ध्यान तानेको छ।
पञ्चायतकालको कठिन परिस्थितिदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका कीर्तिपुर निवासी ढकाल, राजकीयसत्ता र राजनीतिक जिम्मेवारीमा रहँदा पनि कहिल्यै सुकिलो मुकिलो र ठालूपनको पछि लाग्नुभएन । जीवनको उत्तरार्धको आरम्भमा पनि उहाँ डटेर श्रममा लाग्न्ुभएको छ । बजारमा कम्युनिष्ट चरित्र र नैतिकताको खडेरी परिरहेका बेला ढकालको यो कदमलाई स्थानीयले ‘असल कम्युनिष्ट पात्र’ को जीवित दृष्टान्तका रूपमा लिनुभएको छ ।
ढकालका अनुसार यो सफारी चलाउनु केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, बरु जनतासँग प्रत्यक्ष जोडिने र समाजको यथार्थ बुझ्ने महत्त्वपूर्ण औजार पनि हो। “छोराका लागि किनेको यो गाडी घरिघरि आफैं लिएर हिँड्छु। मेरो सम्बन्ध र सम्पर्क अलिक फराकिलो भएकोले साथीभाइहरू आई हाल्नुहुन्छ, यसबाट थप सम्पर्क र सम्बन्ध बिस्तार हुन्छ,’ ढकाल भन्नुहुन्छ, ‘बसिबियाँलो पनि भयो, दौँतरीसँग भेट हुँदा सबैखाले कुराकानी हुन्छन्। यसबाट पनि राजनीति भइरहेको छ,’ ।
सफारीको स्टेरिङ सम्हाल्दै गर्दा उहाँ राष्ट्रिय राजनीतिको बिग्रँदो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुहुन्छ । राजनीतिले उल्टो बाटो लिएको र यसलाई एकताबद्ध भएर सुल्टाउन जरुरी रहेको उहाँको बुझाइ छ। ‘असल अभिव्यक्ति, सकारात्मक सोच र चरित्र विकासको पक्ष समाजमा खड्कँदो छ,’ ढकाल भन्नुहुन्छ, ‘सादगी र इमानदार मानिसको अभावपूर्ति गर्न सके मात्र समाज बन्छ।’
जातीय, लैंगिक वा वर्गीय भेदभावविरुद्ध स्पष्ट अडान राख्दै आउनुभएका उहाँ पछिल्लो समय समानता र न्याय सम्पादनको पक्ष ओझेल परेको महसुस गर्नुहुन्छ । नेतृत्व क्षमतामा आएको ह्रास र जनतालाई प्रेरित गर्ने आधारहरू कमजोर बन्दै गएको उहाँको निष्कर्ष छ।
‘म त ह्याट्रिक कार्यकाल काम गरेको जनप्रतिनिधि हुँ’ भन्ने जस्ता कुनै पनि प्रकारको पदीय अहङ्कार नराखी निरन्तर श्रममा जोडिएका कपिलमणिको यो जीवनशैली आम राजनीतिकर्मी, कार्यकर्ता र समाजका लागि श्रमको सम्मान गर्न सिकाउने एउटा अनुकरणीय पाठ बनेको छ।


ओइल दर्पण 













