images
images

पातमा सपनाको चित्र कोर्दै माेरङका गौरव ढुङ्गाना

मोरङ । कतिपय युवाहरू आफ्नो रुचिलाई समयको अभाव, आर्थिक चुनौती वा अवसरको कमीका कारण बीचमै छाड्न बाध्य हुन्छन् ।

तर उर्लाबारी–८ का युवा कलाकार गौरव ढुङ्गाना आफ्नो रुचिलाई निरन्तर मेहनत, धैर्य र समर्पणका साथ अघि बढाउँदै विशिष्ट पहिचान बनाउन सफल हुँनुभएको छ । पिपलको पात र कागजमा जीवन्त तस्बिर कोर्ने उहाँको कला यतिबेला स्थानीयदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेको छ।

विगत सात वर्षदेखि चित्रकला र विशेषगरी ‘लिफ आर्ट’मा सक्रिय गौरवले पातलाई प्राकृतिक वस्तुका रूपमा मात्र होइन, सिर्जनाको क्यानभासका रूपमा प्रयोग गर्दै आउनुभएको छ ।

उहाँले पिपलको पातमा चर्चित व्यक्तित्व, खेलाडी, कलाकार तथा विभिन्न प्रेरणादायी व्यक्तिहरूको अनुहार उतार्नुहुन्छ । उहाँको कलाले दर्शकलाई पहिलो नजरमै आकर्षित गर्ने क्षमता राख्छ।

गौरवका अनुसार चित्रकलाप्रतिको मोह बाल्यकालदेखि नै थियो। विद्यालयमा अध्ययनरत रहँदादेखि नै खाली समयमा चित्र बनाउनुहुन्थ्यो । साथीहरू खेल्न जाँदा गौरब भने कागजमा केही न केही कोरिरहनुहुन्थ्यो । समयसँगै त्यो रुचि कला प्रतिको समर्पणमा परिणत भयो।

“सानैदेखि चित्र बनाउन मन पर्थ्यो। सुरुमा सामान्य स्केचहरू बनाउँथेँ। पछि सामाजिक सञ्जालमा विभिन्न कलाकारका कामहरू हेर्दै जाँदा पातमा चित्र बनाउने कला सिक्ने इच्छा जाग्यो। त्यसपछि अभ्यास गर्दै जाँदा आजको अवस्थासम्म आइपुगेको हुँ,” गौरव भन्नुहुन्छ ।


उहाँका अनुसार लिफ आर्ट बनाउन निकै धैर्यता आवश्यक हुन्छ। सामान्य कागजमा चित्र बनाउनुभन्दा पातमा चित्र बनाउनु धेरै चुनौतीपूर्ण हुन्छ। पात च्यातिन सक्ने, सानो गल्तीले सम्पूर्ण काम बिग्रिन सक्ने भएकाले प्रत्येक रेखामा सावधानी अपनाउनु पर्छ।

“एउटा पातमा चित्र बनाउन कहिलेकाहीँ धेरै घण्टा लाग्छ। धैर्य नगरी यो काम सम्भव हुँदैन। तर अन्तिम परिणाम राम्रो आउँदा सबै दुःख बिर्सिन्छु,” उहाँ थप्नुहुन्छ ।

हाल गौरव अध्ययनलाई निरन्तरता दिँदै कला क्षेत्रमा सक्रिय हुनुहुन्छ । पढाइ र कलालाई समान प्राथमिकता दिइरहनुभएको छ । गौरबलाइ शिक्षा र सिर्जनशीलता दुवै जीवनका महत्वपूर्ण पक्ष हुन् भन्ने थाहा छ । भविष्यमा पनि अध्ययनसँगै आफ्नो कलायात्रालाई अगाडि बढाउने योजना रहेको छ।

पछिल्लो समय उहाँको कामको चर्चा बढ्दै गएपछि विभिन्न व्यक्तिहरूले कमिसनमा समेत चित्र बनाउन आग्रह गर्न थालेका छन्। सामाजिक सञ्जालमार्फत आउने अर्डरहरूले उनको आत्मविश्वास बढाएको छ। यसले सीपलाई व्यावसायिक रूपमा समेत अघि बढाउने सम्भावना देखाएको छ।गौरव भन्नुहुन्छ “मानिसहरूले मेरो काम मन पराएर अर्डर दिनु नै ठूलो उपलब्धि हो। यसले अझ राम्रो काम गर्न प्रेरणा मिल्छ। भविष्यमा यही क्षेत्रलाई पेशाको रूपमा विकास गर्ने सोच छ।”

गौरबको कलात्मक यात्रामा परिवारको भूमिका पनि महत्वपूर्ण रहेको छ। विशेषगरी दिदी गरिमा ढुङ्गानाले भाइको सफलतामा गर्व महसुस गर्ने बताउनुहुन्छ । सुरुका दिनहरूमा भाइले पातमा घण्टौँ समय बिताउँदा के गरिरहेको होला भन्ने लाग्थ्यो। तर विस्तारै उनले बनाएका कलाकृतिहरू देख्दै जाँदा गौरवको प्रतिभा बुझ्न सकिएको गरिमाको भनाइ छ।“सुरुमा त के गरेको होला, काम पाएनछ जस्तो लाग्थ्यो। तर विस्तारै बुझ्दै जाँदा उसले निकै राम्रो काम गरिरहेको रहेछ भन्ने महसुस भयो,” गरिमा संझनुहुन्छ । “आजकल सामाजिक सञ्जालमा वा बाहिर मानिसहरूले भाइको तारिफ गरेको सुन्दा धेरै खुसी लाग्छ। उसको मेहनतको सम्मान भएको देख्दा गर्व महसुस हुन्छ।

हाल विश्वभर चर्चा भइरहेको फिफा विश्वकप २०२६ को माहोलले पनि गौरवको कलामा नयाँ रंग भरेको छ। उहाँले विश्व फुटबलका चर्चित खेलाडीहरूको लिफ आर्ट तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । विशेषगरी मेस्सी, रोनाल्डो, नेयमारलगायत खेलाडीका पातमा कोरिएका तस्बिरहरूले दर्शकको ध्यान खिचेका छन्।
गौरबका यी कलाकृतिहरू सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्। धेरैले मेहनत, सूक्ष्मता र सिर्जनात्मक क्षमताको प्रशंसा गरेका छन्। विश्वकपको उत्साहलाई कलामार्फत अभिव्यक्त गर्ने उनको प्रयासलाई कला प्रेमीहरूले सकारात्मक रूपमा लिएका छन्।

स्थानीय स्तरमा मात्र सीमित नरही राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउने लक्ष्य राखेका गौरव नेपाली कलाक्षेत्रमा नयाँ सम्भावनाको प्रतिनिधित्व गर्छन्। डिजिटल युगमा अधिकांश युवा मोबाइल र सामाजिक सञ्जालमा व्यस्त भइरहेका बेला गौरबले भने आफ्नो समय सिर्जनात्मक कार्यमा लगानी गर्नुभएको छ । जसका कारण धेरै युवाका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।

जन्मजात हुन सक्छ, तर त्यसलाई सफलतामा रूपान्तरण गर्न निरन्तर अभ्यास आवश्यक हुन्छ। “प्रतिभा मात्र भएर पुग्दैन। मेहनत, धैर्य र निरन्तरता चाहिन्छ। मैले पनि सिक्दै र सुधार गर्दै अगाडि बढिरहेको छु,” उहाँ भन्नुहुन्छ ।

उर्लाबारीको एउटा सामान्य घरबाट सुरु भएको गौरव ढुङ्गानाको कलायात्रा अहिले धेरैका लागि प्रेरणा बनेको छ।

पिपलको साधारण पातमा असाधारण चित्र कोर्ने उनको कला सिर्जना मात्र होइन, सपनालाई आकार दिने माध्यम पनि बनेको छ। निरन्तर मेहनत र सिर्जनशीलताको यही यात्रा कायम रहिरहे, भविष्यमा गौरव नेपाली कलाक्षेत्रको एक चिनिने नाम बन्नेमा दुई मत देखिँदैन।