काठमाडौं । नेपाल र कोरियाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई रोजगारी र श्रममा मात्र सिमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा पनि विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल–कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा आइतबार काठमाडौंमा भएको ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।
कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–कोरिया उद्यमी व्यवसायी संघको सम्भावना राम्रो रहेको बताउँदै निजी क्षेत्र र संघबीच सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो । नेपालमा लगानी, उद्यमशीलता र उत्पादन विस्तारका लागि नेपाल–कोरिया सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा संघका महासचिव जितेन्द्र बानियाँले नेपाल–कोरिया सम्बन्धलाई श्रम र रोजगारीको सम्बन्धबाट माथि उठाएर आर्थिक तथा व्यावसायिक साझेदारीमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘नेपाल–कोरिया व्यवसायिक अवसर, चुनौती तथा रिटर्नी उद्यमीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले कोरियाबाट फर्किएका नेपालीहरू सीप, पूँजी, प्रविधि, कार्यसंस्कृति र अन्तर्राष्ट्रिय बजारको अनुभव बोकेका सम्भावित आर्थिक साझेदार भएको बताउनुभयो । उनीहरू नेपालमा लगानी र उत्पादनमा सक्रिय हुन तयार रहेको धारणा राख्दै उहाँले त्यसका लागि वातावरण भने हुनुपर्नेमा जोड दिनुभयो ।
छलफलका क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी, नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठ लगायतले नेपाल–कोरिया आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारका लागि आवश्यक नीतिगत, संस्थागत तथा वित्तीय सहजीकरणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलमा श्रम, उद्योग, लगानी, वित्तीय पहुँच, प्रविधि हस्तान्तरण तथा रिटर्नी उद्यमीका विषयमा पनि चर्चा भएको थियो ।
कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत एच.ई. पार्क ते–युङ, कोइका नेपालका राष्ट्रिय निर्देशक कङ मू–हुन, उद्योग बाणिज्य महासंघका कर्यसमिति सदस्य तथा रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्की, नेपाल–कोरिया उद्यमी व्यवसायी संघका सल्लाहकार एवं पूर्वकूटनीतिज्ञ यादव खनाल लगायतको उपस्थिति थियो ।
सहभागीले नेपाल–कोरिया उद्यमी व्यवसायी संघले अघि सारेको उद्देश्यको प्रशंसा गर्दै संघसँग सहकार्य र साझेदारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ओइल दर्पण 












